सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा आज आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि चैनपुर नगरपालिकाका नगर उपप्रमुख मुना श्रेष्ठले प्रसुति प्रतिक्षालय कक्षको उद्घाटन गर्नु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाको ग्रामिण आमा स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा प्रसुति प्रतिक्षालय कक्षकोे  उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मुना श्रेष्ठले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आफू स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएदेखि नै सोचेको योजना आज आएर शुरु भएकोमा खुशी व्यक्त गर्दै यसले आमा र शिशुको स्वास्थ्य स्वस्थ राख्नमा उल्लेखनीय योगदान पुर्‍याउने बताउनु भयो । उद्घाटन कार्यक्रमलाई  सम्बोधन गर्दै चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले प्रसुति प्रतिक्षालय कक्षको स्थापनाले आमा र नवजात शिशु सुरक्षित हुँदै शिुशु मृत्युदर घट्ने बताउनु भयो । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर व्यवस्थापन समितिका अध्यक्ष एवं चैनपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नेत्रबहादुर डाँगीले आमा र नवजात शिशुको अकालमा मृत्युहुनबाट जोगाउन सहयोग पुर्‍याउने बताउनु भयो । कार्यक्रमवारे जानकारी दिँदै कार्यक्रम सञ्चालक स्वास्थ्य कार्यालय खाँदवारीका पब्लिक हेल्थ नर्स भवानी तिम्सीनाले प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर जिल्लामा सबैभन्दा धेरै प्रसुति हुने स्वास्थ्य केन्द्र भएको बताउँदै प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरबाट टाढा घर भएका र अनुमानित प्रसुति मिति नजिक आएका गर्भवती, अनुमानित प्रसुति मिति नाघेका गर्भवती, प्रसव अवस्था, सुत्केरी अवस्था तथा नवजात शिशुलाई जटिलता देखा परेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा रहँदाका समयमा आमा, नवजात शिशु र १ जना कुरुवालाई निशुल्क खाना र बस्नको व्यवस्था गरीने साथै प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार सम्भव नभए अन्यत्र पठाउँदा लाग्ने यातायात समेत निशुल्क गरिने बताउनु भयो । कार्यक्रमका सभापति स्वास्थ्य कार्यालय खाँदवारीका प्रमुख रमेश बाह्रकोटीले कार्यक्रम समापनका अवसरमा बोल्दै प्रदेश सरकारको विशेष अनुदान अन्तर्गतको ग्रामिण आमा स्वास्थ्य सुरक्षा कार्यक्रम जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र नुम, प्राथमिक स्वास्थ्य केन्द्र वाना र प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा लागू भएको बताउनु भयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 80 Viewed

प्रतिक्रिया दिनुहोस्