सङ्खुवासभा जिल्लाका ४ नगरपालिकाको लागत साझेदारीमा चैनपुरमा निर्माण गरिएको आइसोलेसन कक्षको कोभिड १९ को दोस्रो सङक्रमणको लहर फैलिएसँगै पुनः आइसोलेसन कक्ष संचालनमा ल्याइएको छ ।

       जिल्लाको चैनपुर नगरपालिकामा निर्माण भएको मदन आश्रित स्मृति प्रतिष्ठानको भवन र विपी गणेशमान स्मृति प्रतिष्ठानको भवनलाई आइसोलेसन कक्षमा रुपान्तरण गर्ने गरी चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, मादी नगरपालिका र पाँचखपन नगरपालिकाको रु.७५ लाखको संयुक्त लगानीमा १ सय वेड क्षमताको आइसोलेसन कक्ष निर्माण भएसँगै अहिले ति भवनमा ५० वेडको आइसोलेसन कक्ष संचालनमा ल्लाइएको चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले जानकारी दिनुभयो । सङ्खुवासभा जिल्लामा स्थापना गरिएका आइसोलेसन कक्षको निरीक्षण गर्ने क्रममा आज चैनपुर आइपुग्नु भएका सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल सहित चैनपुर नगरपालिकाका नगर उपप्रमुख मुना श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी नवराज मल्ल, सशस्त्र प्रहरी वल ४ नं. गुल्म सङ्खुवासभाका गुल्मपति विशाल सिलवाल, चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल, ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा, चैनपुर नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरु सहितको टोली लगायतका व्यक्तिहरुले आइसोलेसन कक्षको आज अनुगमन गर्नुभयो ।

आजै सङ्खुवासभाको धर्मदेवी नगरपालिका ४ मा रहेको मायाखोला जलविद्युत आयोजनाले २२ थान अक्सिजन सिलिण्डर ग्याँस धर्मदेवी नगरपालिकाको पहलमा उपलब्ध गराई १९ थान अक्सिजन सिलिण्डर ग्याँस चैनपुर स्थित आइसोलेसन कक्ष आइपुगेका र ३ थान धर्मदेवी नगरपालिकाको मातहतमा रहेको समेत प्रजिअ पौडेलले जानकारी दिनुभयो । जिल्लाका ४ नगरपालिकाद्वारा स्थापना गरिएको आइसोलेसन कक्षमा कोभिड १९ संक्रमितहरु अक्सिजन अभावको कारणले मृत्युवरण हुन नपरोस भन्ने उद्देश्यले दाताहरु खोजेर अक्सिजन सिलिण्डर ग्याँस उपलब्ध गराएको धर्मदेवी नगरपालिकाका नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिनुभयो । यसैगरी खाँदवारी नगरपालिका लगायत सिलिचोङ, मकालु, भोटखोला, चिचिला र सभापोखरी गाउपालिका सहित ६ पालिकालाई लक्षित गरी निर्माण गरिएको आइसोलेसन कक्षका लागि समेत १८ थान अक्सिजन सिलिण्डर ग्याँस मनोज साह मार्फत उपलब्ध भइसकेको प्रजिअ पौडेलले बताउनु भयो । जिल्लाका ३ स्थानमा रहेको संस्थागत आइसोलेसन कक्ष मध्ये एकै परिवारका १ वर्षीय बालक सहित खाँदवारी नगरपालिका १ का ५ जनाको श्रेष्ठ परिवार सहित ३५ जना तुम्लिङटार स्थित आइसोलेसन कक्षमा रहेका छन् । यत चैनपुर स्थित आइसोलेसन कक्षमा ७ जना कोभिड संक्रमित रहेका छन् ।

जिल्लाका ३ ठाउँहरु खाँदवारी नगरपालिका ३ मानेभञ्ज्याङमा २४ वटा, खाँदवारी नगरपालिका ९ तुम्लिङटारमा ४५ वटा र चैनपुर नगरपालिका वडा नं. ६ र ७ मा ५० वटा गरी १ सय १९ वटा वेड क्षमताको संस्थागत आइसोलेसन कक्ष रहेका छन् । आजसम्म जिल्लामा ६ सय जना मानिसमा एऋच् टेस्ट गरिएकोमा १ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको समेत प्रजिअ पौडेलले जानकारी दिनुभयो । कोभिड संक्रमितहरु मध्ये १८ जना निको भएर घर फर्किसकेका, जिल्ला भरीका १२ जना कोभिड संक्रमित विरामीले स्वेच्छाले जिल्ला बाहिरको स्वास्थ्य संस्थामा उपचार गराइरहेका, ६० जना होम आइसोलेसनमा रहेका समेत प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

       जिल्लामा कोभिड संक्रमणको दर बढ्दै गइरहेको वर्तमान अवस्थामा सबै नागरिकहरुलाई घरभित्र सुरक्षितसाथ रहन, स्वास्थ्य मापदण्डको पालना गर्दै कोभिडसँग लड्न नागरिकहरुमा आग्रह गर्दै स्थानीय प्रशासनले ३ दिन अघिबाट निषेधाज्ञा जारी गरिएकोमा नागरिकहरुद्वारा पूणर् रुपमा पालना गरिएको प्रजिअ पौडेलले बताउनु भयो ।

आजै जिल्लामा थप २१ जनाको एन्टिजेन परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । कोभिड संक्रमण सक्रिय रहेको संख्या १ सय १२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रवक्ता रोषनकुमार श्रेष्ठले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 77 Viewed

प्रतिक्रिया दिनुहोस्