नेपाल आयल निगमको अधिकृत विक्रेता संखुवासभाको चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगोलागी हुँदा सो सप्लायर्स जलेर पूर्ण रुपमा नष्ट भएको छ ।     चैनपुर नगरपालिका वडा नं. ७ को जिरोप्वाइन्टमा रहेको आयल निगममा विहान सवा ११ बजे लागेको आकस्मिक आगोलागीबाट पेट्रोल ट्याङ्कको भौतिक संरचना पूर्ण रुपमा जलेर नस्ट भएको छ । पेट्रोल पम्पमा डिजेल २० हजार लिटर त्यसैगरी पेट्रोल ९ हजार लिटर आजै ट्याङ्की फुल गर्ने क्रममा ट्याङ्करबाट पेट्रोल खन्याउँदै गर्दा आकस्मिक आगजनी भएको आयल निगमका प्रोप्राइटर अनोद श्रेष्ठले बताए । आगोलागीबाट पेट्रोलपम्पमा डेढ करोड माथिको क्षति भएको संचालक अर्का सदस्य चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्यले बताए । आगोलागीबाट आयल निगमसँगै जोडिएको राउत कम्प्लेक्सको ठूलो विल्डिङमा समेत क्षति पुगेको छ । आगजनीले सँगै रहेको शुभ होटल¸ टच हेल्पिङ् हेण्ड्स पोलि क्लिनिक¸ रेडियो अरुण लगायत भवन क्षेत्रमा रहेका सबै कार्यालय तथा संरचनाहरुमा आंशिक क्षति पुगेको छ । अहिले सशस्त्र प्रहरी बल ४ नं गुल्म¸ ईलाका प्रहरी कार्यालय चैनपुरको सुरक्षा निकाय र स्थानीयवासीहरुको पहलमा आगो नियन्त्रणमा आइसकेको छ । आगोलागी भएको स्थानमा डोजर प्रयोग गरी आगोका लप्काहरुलाई माटोले पुरेर आगो नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । आगो के कसरी लाग्यो भन्ने वारेमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । आगोलागीका कारण चैनपुर ६ निवासी आयल निगममा कार्यरत कर्मचारी सविन श्रेष्ठ सामान्य घाइते भएका र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 284 Viewed

प्रतिक्रिया दिनुहोस्