नेपालकै बहुचर्चित राष्ट्रिय गौरवको सङ्खुवासभामा निर्माणाधीन आयोजना नौ सय मेगावाटको अरुण तेस्रो परियोजना कार्यस्थलमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएपछि ३ दिनदेखि रोकिएको काम सोमबारबाट १० बुँदे सहमतिपछि सुरु भएको छ । 

मकालु गाउँपालिका– ५ फ्याक्सिन्दामा टिपरले मोटरसाइकलमा सवार गरी नुम तर्फ आइरहेका २ जनालाई ठक्कर दिदा मकालु गाउँपालिका वडा न– ३ हेदाङ्नागढीका ४२ वर्षीय खड्गबहादुर राईको गत शुक्रवार मृत्यु भएसँगै सो ठाउँ ३ दिनदेखि स्थानीयवासीहरुले सो घटनालाई लिएर अरुण तेस्रो परियोजनाको काम ठप्प बनाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए । मोटरसाइकलको पछाडि सवारमा यात्रामा रहेकी मृतक राईकी श्रीमती प्रेमकुमारी राई भने गम्भिर घाईते भएकी छिन् ।  प्रहरी निरीक्षक बुढाथोकीले दिएको जानकारी अनुसार नुमबजारतर्फ आउने क्रममा भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले उनीहरु सवार रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरचालक सुवास चौलागाइलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिपरको ठक्करबाट घाईते भएकी प्रेमकुमारी राईलाई मकालुको नुमबजारको स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगी उपचार भइरहेको समेत पारिवारिक स्रोतले जनाएको छ ।

संखुवाभसाको मकालु गाउँपालिका वडा नं. ५ को फ्याक्सिन्दा बेसीमा गत शुक्रबार टिपरको ठक्करबाट स्थानीय खड्गबहादुर राईको ज्यान गएपछि मकालु ५ का स्थानीयवासीले मृतकको उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन चर्काएपछि काम ठप्प भएको थियो । आइतबार राति अबेरमात्रै आयोजना र पीडित पक्षबीच छलफलपछि पीडित पक्षले ४ दिनपछि मृतकको शव बुझेका हुन् । 

मृतक राईको आफन्त दीपेन्द्र राईले अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमति भएपछि मात्रै सोमवार मृतक राईको शव उठाएर धार्मिक परम्परा अनुसार अत्येष्टि गरिएको छ । राईका अनुसार बीमा बापतको २० लाख रुपैयाँ उपलब्ध गराउने, मृतकका दुई जना छोराछोरीको लालनपालनको सम्पूर्ण खर्च बेहोर्ने र उनीहरुको उच्च शिक्षाका लागि भारतीय राजदूतावासबाट छात्रवृत्ति उपलब्ध गराउने, मृतकका बुबाआमाको भरणपोषणका लागि मुद्दति खातामा १० लाख रुपैयाँ जम्मा गर्ने सहमति भएको छ । यसैगरी मृतकका परिवारबाट दुई जनालाई जेपी कम्पनीमा रोजगारी उपलब्ध गराउने, हेलिकप्टर मार्फत काठमाण्डौ लगिएकी घाइते प्रेमकुमारी राईको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र स्थानीयवासीहरुले उठाएका विभिन्न मागको समेत सम्बोधन गर्ने गरी स्थानीयवासी र एसजेभिएस कम्पनीका बिच १० बुँदै सहमति भएको छ । पीडित पक्ष र अरुण तेस्रो आयोजनाको जेपी एसोसिएट कम्पनीबीच मृतकका परिवारलाई ५२ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएपछि सोमवारदेखि अरुण तेस्रोको काम सुरु गरिएको अरुण तेस्रो परियोजनाले जनाएको छ । बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना सन् २०२३ भित्र सम्पन्न गर्ने गरी काम अघि बढिरहेको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय सतलज कम्पनी एसजेभीएनले काम गरिरहेको छ ।  

अन्तिम पटक अध्यावधिक गरिएको 70 Viewed

प्रतिक्रिया दिनुहोस्