पूर्वी नेपालको संखुवासभामा गुरुङ समुदायका खेगी गुरुङहरूलाई तमु प्ये ल्हुँ संघ जिल्ला कार्यसमिति संखुवासभाले एक कार्यक्रमका विच सम्मान गरेको छ ।

 सोमबार चिचिला गाउँपालिका– १ पोखरी गाउँमा आयोजना गरिएको कार्यक्रममा गुरुङ समुदायका लामा गुरुहरूलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रमको उद्घाटन १ सय २ वर्षीय दारी लामा (मानवीर गुरुङ)ले लामा मन्त्रोच्‍चारण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा गएको कात्तिक महिनादेखि पुस दोस्रो सातासम्म करिब तीन महिना गुफा बसेर निस्किएका पाँचजना नयाँ लामा सहित लामो समयदेखि पुरोहित लामा पेसालाई नै निरन्तरता दिँदै आएका पाँचजना पुराना लामा गुरु गरी १० जनालाई सो कार्यक्रममा सम्मान गरिएको  तमु प्ये ल्हुँ संघ जिल्ला कार्यसमिति संखुवासभाले जनाएको छ । सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा तमू प्ये ल्हुँ संघ संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) हेमबहादुर गुरुङले गुरुङ जातिको खेगी गुरुङलाई कार्यक्रमको अवसरमा दोसल्ला ओढाएर सम्मान गरेका थिए । पूर्वआजिपी गुरुङले बोन्पो लामाहरू समयको क्रमसँगै लोप हुँदै गएकाले संरक्षण आवश्यक रहेकाले गुरुङ जातिहरुले आफ्नो संस्कृति बचाउन चालेको कदमप्रति खुशी व्यक्त गर्दै गुरुङहरूले आफ्नो जातीय कर्मकाण्ड गर्ने खेगीहरू संरक्षण गर्न आवश्यक रहेको बताए । 

संखुवासभाका बोन्पो लामाहरूको संरक्षणका लागि पूर्वआइजिपी गुरुङले उनको मातापिताको नाममा एक लाख रुपैयाँको ‘हर्कवन सुब्बा स्मृति अक्षय कोष’ समेत स्थापना गर्ने गरी तमु प्ये ल्हुँ संघ संखुवासभाका अध्यक्ष गोवर्द्धन गुरुङलाई चेक हस्तान्तरण गरेका थिए । त्यसैगरी तमु प्ये ल्हुँ संघ युकेबाट तीन लाख रुपैयाँको अक्षय कोष र तमू प्ये ल्हुँ संघ हङकङबाट एक लाख रुपैयाँको अक्षय कोष गरी जम्मा पाँच लाख रुपैयाँको अक्षय कोष समेत गुरुङ समुदायका खेगी गुरुङहरूलाई लक्षित गरी कोषको स्थापना गरिएको तमु प्ये ल्हुँ संघ जिल्ला कार्यसमिति संखुवासभाले जनाएको छ । सम्मान कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्तिसमेत वितरण गरिएको थियो । गुरुङ जातिको साझा संस्था तमू ह्युल छोजधीं गुरुङ राष्ट्रिय परिषद्को धर्मसंस्कार, संस्कृति जगेर्ना र संरक्षण गर्ने शुभेच्छुक संस्थाको रूपमा तमु प्ये ल्हुँ संघलाई लिने गरिन्छ । 


तमू प्ये ल्हुँ संघले सनातन र परापूर्वकालदेखि गुरुङ जातिहरूले मनाउँदै आएका धर्मसंस्कार, संस्कृति र संरक्षण र जगेर्ना गर्ने काम गर्दै आएको छ । सोहीअनुसार उनीहरुले संखुवासभा जिल्लाको चिचिला गाउँपालिका अन्तर्गत पोखरी गाउँ, मत्स्यपोखरी, ध्वजे र माङमाया लगायतका स्थानहरूमा रहेका बोन्पो लामाहरूको संरक्षणका लागि विभिन्न कामहरू गर्दै आएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए । अध्यक्ष शेर्पाका अनुसार सबै जातजातिहरूको जातीय संस्कार, संस्कृतिहरूको संरक्षण गर्न चालिएको कदममा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले गएको तमु जातिको ल्होसार पर्व मनाउन पालिकाले दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको बताउँदै सबै जातजातिको संरक्षण, संवर्द्धन र आवश्यकअनुसारका काम गर्न सदैव गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए । यसैगरी तमू प्ये ल्हुँ संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले बोन्पो लामालाई निरन्तरता दिने पुरोहित नै लोप हुँदै गइरहेको समयमा संखुवासभाले संरक्षण अभियान थालेकोमा केन्द्रले मुक्त कण्ठले उक्त कार्यको प्रशंसा गर्दै संखुवासभा जिल्लासँग हातेमालो गर्न केन्द्रीय समिति तयार रहेको समेत बताए । 

बिस्तारै लोप हँदै गएको बाेन्पो लमको संरक्षणका लागि स्थापना भएको अक्षय कोषबाट आउने ब्याजले नयाँ लामाहरूको उत्पादन गर्ने र निरन्तरता दिनेलगायत विभिन्न काम गर्न सहज भएको तमु प्ये ल्हुँ संघ जिल्ला कार्यसमिति संखुवासभाका सचिव ललित गुरुङले बताए । 

गुरुङ जातिहरुको खेगी सम्मान कार्यक्रममा पूर्वआइजिपी गुरुङ, तमु प्ये ल्हुँ संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ, महासचिव हर्क गुरुङ र महिला संघका विभिन्न पदाधिकारी र सञ्चारकर्मीहरूसमेत देशका विभिन्न भागबाट संखुवासभा आएका थिए । सोही कार्यक्रमको अन्त्यमा महिलाहरूको भ्रातृसंस्था तमुस्यो प्ये ल्हुँ संघसमेत भक्ति गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको थियो । 

अन्तिम पटक अध्यावधिक गरिएको 185 Viewed

प्रतिक्रिया दिनुहोस्