संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका वडा नं.४ मा पछिल्लो पटक  कोरोनाको लक्षण सहितका सङ्क्रमित फेला परी मृत्यु समेत हुन थालेपछि नगरपालिका भित्रका ३ वटा माध्यमिक विद्यालयको अध्ययन अध्यापन पूर्ण रुपमा बन्द गरिएको छ ।

नगरको कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले बुधवारदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न  निर्देशन दिएसँगै शैक्षिक संस्था बन्द गरिएको शारदा मा.वि. हुम्लिङ धर्मदेवी ४ का प्र.अ. लोकबहादुर घिमिरेले जानकारी दिए । नगरका शारदा मा.वि. हुम्लिङ¸ रामेश्वर मा.वि. माम्लिङ र सिंहेश्वरी मा.वि. मुढे तामाफोक सहित ३ विद्यालय एकसाताका लागि बन्द गरिएको धर्मदेवी नगरपालिकाका नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित व्यक्तिहरु बाहिरी जिल्लाबाट संखुवासभा प्रवेश गरे अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि नगरले गरेको छ  । नगर प्रमुख जिमीका अनुसार शैक्षिक सहजीकरणका नाममा विद्यालयले विद्यार्थी बोलाई जबर्जस्ती कक्षा  सञ्चालन गरेमा स्वयं विद्यालय र अभिभावक जवाफदेही बन्नु पर्ने बताउनुभयो । 

नगरले कोरोनाको सङ्क्रमणको उच्च जोखिम बढेसँगै नगर भित्र सम्बेदनशिल देखिएका स्थानलाई सम्बन्धित वडाले जोखिम विश्लेषण गरी आवश्यकतानुसार अत्यावश्यक बाहेक अन्य सबै प्रकारका सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउन अनुरोध समेत गरेको छ । नगर क्षेत्रको खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न र  सभाजुलूस नगराउन समेत नगरपालिकाले अनुरोध गरेको छ ।

केही दिन अघि धर्मदेवी नगरपालिका ४ का एक अधवैंशे महिलाको कोभिड १९ का कारण मृत्यु भएको २ दिन नवित्दै उनका एक छोराको समेत कोभिडका कारण मृत्यु भएपछि हिजोबाट धर्मदेवी नगरपालिकाका ती विद्यालयहरु बन्द भएका हुन् । एक महिना अघि धर्मदेवी न.पा.३ मा एक वृद्धको समेत कोरोनाबाट मृत्यु भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 87 Viewed

प्रतिक्रिया दिनुहोस्