सिलिचोङ गाउँपालिकामा गएको पहिरोबाट विस्थापित हुने १ सय ६ घर परिवारलाई ६ लाख २ हजार नगद सहयोग प्राप्त भएको छ ।

अमेरिकामा रहेका ओङ्छु शेर्पा र जाङ्बु शेर्पाको पहलमा संकलित रकम  सिसुवाखोला अस्थाई पहिरो पीडित व्यवस्थापन समितिको उपस्थितिमा नेपाल शेर्पा संघ प्रदेश नं. १ कार्य समिति र सिलिचोङ गाउँ कार्य समितिको समन्वयमा हस्तान्तरण गरेको थियो । पहिरो पीडितहरुका लागि संकलित रकम पठाएसँगै सो रकम पहिरो पीडितहरुले प्राप्त गर्न सफल भएका छन् । सो संकलित रकमबाट पहिरो पीडितहरुलाई तत्काल आवश्यक पर्ने आर्थिक संकटलाई केहि हदसम्म सहयोग मिल्ने भन्दै नगद नै सहयोग गरिएको नेपाल शेर्पा संघ प्रदेश नं. १ का सल्लाहकार छिरिङ शेर्पाले बताए । विदेशी भूमीमा रहेर पनि सहयोगीहरुको सहयोग रकम प्रत्यक्ष पीडितलाई नै सहयोग गर्न पाएकोमा उनले खुसी समेत व्यक्त गरे । गत असार २७ गते गएको पहिरोका कारण सिलिचोङ गाउँपालिका वडा नं. १ को बेसिन्दा र चेप्चेवा गाउँमा ठूलो धन जनको क्षति भएको थियो । चेप्चेवाका बासिन्दा विस्थापित मात्र भएनन् त्यो बेला गएको पहिरोबाट बेसिन्दामा १२ जनाको ज्यान समेत गएको थियो । बेसिन्दाका मृतक परिवारलाई १४ हजार, घर बगाएकालाई ८ हजार र अन्य विस्थापित परिवारहरुलाई पाँच पाँच हजारका दरले संकलित रकम हस्तान्तरण गरिएको थियो । संकलित रकम पाएपछि पहिरोबाट विस्थापित भएकाहरु खुसी भएका छन् । पहिरो पीडित खेमराज कुलुङले यो विपतपछि आन्तरिक तथा पारिवारिक समस्याहरु यस्तै सहयोगबाट टार्दै आएको समेत बताएका छन् । उनले खेतीपती र घर समेत गुमाएकाहरुले टेण्टमा गाउँपालिका तथा दातृ निकायबाट प्राप्त खाद्यन्नहरुबाट दिनचार्य चलाउँदै आए पनि जीवन निर्वाहका लागि आर्थिक समस्या भइरहने गरेकोे बताएका छन् ।

पहिरो पीडितहरुलाई सहयोगीहरुहरुले जुन विधिबाट पनि सहयोग गर्न सकिने तर समितिको उपस्थितिमा वितरण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । राहत संकलन तथा वितरणका लागि एकद्वार प्राणाली लागु गरिएको र सोहि अनुरुप समितिलाई पूणर् जानकारी गराउनुपर्ने व्यवस्था रहेको गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङले बताए । गाउँपालिका अध्यक्ष कुलुङले विदेशी भुमीमा रहेर पनि सिलिचोङको पिडामा मल्हम थपेको भन्दै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । विभिन्न व्यक्ति संघ संस्था लगायतबाट प्राप्त रकम दाता कै इच्छा अनुसार समन्वय गरिरहेको अध्यक्ष कुलुङको भनाई छ ।

सिलिचोङ पहिरो पिडितहरुको लागि हालसम्म झण्डै ४ करोड बराबरको खाद्यान्न, लत्ताकपडा तथा नगद रकम राहत सहयोग स्वरुप प्राप्त भईसेकेको सिसुवाखोला पहिरो पीडित अस्थाई व्यवस्थापन समितिका आर्थिक संयोजक भुपालराज मेवाहाङले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 72 Viewed

प्रतिक्रिया दिनुहोस्