धनगढी । सीमा क्षेत्रमा हुने तस्करी रोक्दा तस्करको समूहबाटै मारिएका २ जना प्रहरी कर्मचारीका आश्रित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २–२ लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ ।

बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपषिद बैठकले कैलालीको धनगढी नजिकैको जुगेडास्थित अस्थायी प्रहरी पौस्टका इञ्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको परिवारलाई २–२ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले १–१ लाख रुपैयाँ तत्काल प्रदान गर्ने र १–१ लाख मृतकका सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिए ।

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि गत शनिबार राति सीमा क्षेत्रमा गस्तीका लागि गएका असई विक दोस्रो दिन आइतबार धनगढी–१० मा पर्ने मोहना नदीमा मृत फेला परेका थिए ।

असई विक मृत फेला परेको तेस्रो दिन मंगलबार जवान साउँदको शव मोहना नदीमा नै गाडीको अवस्थामा फेला परेको थियो ।

कैलाली प्रहरीको अनुसन्धानबाट मटर (केराउ) तस्करी गर्ने समूहले असई विक र जवान साउँदको हत्या गरेको खुलेको छ । प्रहरीले विक र साउँदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जनालाई मंगलबार नै सार्वजनिक गरेको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 18 Viewed

प्रतिक्रिया दिनुहोस्