आज श्री पञ्चमी पर्व¸ विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी सङ्‍खुवासभाका सबै शैक्षिक संस्थाहरुले श्री पञ्‍चमी पर्व मनाएका छन् ।

अक्षर आरम्भ गराउने उद्देश्यका साथ साना साना बालबालिकाहरु काखमा लिएर अभिभावकहरु निजी तथा सामुदायिक विद्यालयले आयोजना गरेको सरस्वती पूजामा सरिक हुँदै विद्या र सिर्जनाकी देवी सरस्वती मातालाई विशेष पूजा आराधना गरेर सरस्वतीको महिमाको वर्णन गरीएको थियो । सरस्वती पूजामा साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, शैक्षिक सामग्री र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्दै आएका छन् ।

वसन्त पञ्‍चमीका रुपमा समेत चिनिने सरस्वती पर्वका दिनदेखि सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ भनिएको धार्मिक जनविश्वास रहेको छ । आजको दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास साथ आफ्ना बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने¸ आजैका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने भएकाले यस प्रकृतिका सामाजिक कृयाकलपाहरु पनि गर्ने गरिएको छ । यस वर्ष शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । कतिपय बालबालिकाका अभिभावकहरुले आजैका दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्ने पनि गर्दछन् । जिल्लाको मनकामना¸ सिद्धकाली मन्दिर¸ यसैगरी सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न सरस्वती मा.वि चैनपुरको सरस्वती मन्दिरमा बिहान सबेरैबाट छात्रछात्राहरु सहित अभिभावकहरुको उल्लेख्य रुपमा घुइँचो लागेको थियो । सरस्वती मा.वि.का प्रधानाध्यापक गोविन्दमान तामाङका अनुसार अवेर ११ बजे पूजा आराधना सकेर विद्याकी देवी सरस्वतीको वसन्त पञ्‍चमी मनाएको बताए । बिहान सबेरैबाट जिल्लाको हिमालय मा.वि. खाँदवारी¸ शारदा मा.वि. पोखरी¸ वरुण क्याम्पस खाँदवारी¸ संखुवासभा क्याम्पस चैनपुर¸ मादी क्याम्पस मादी¸ रामेश्वर क्याम्पस माम्लिङ¸ वाना मा.वि. वाना सहित जिल्ला भित्रका शैक्षिक संस्थाका सरस्वती मन्दिरहरुमा छात्रछात्राहरु सहित स्थानीय अभिभावकहरुको घुइँचो लागेको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 30 Viewed

प्रतिक्रिया दिनुहोस्