संखुवासभाको चैनपुृर नगरपालिकाले अघिल्लो आर्थिक वर्षको बच्चाहरुलाई न्यानो स्वीटर वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

                सामुदायिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्म आधारभूत तहका छात्र छात्राहरुलाई नगरपालिकाको बालबालिका कोषको बजेटबाट २ हजार ९ सय बालबालिकाले न्यानो स्वीटर लिन सफल भएका छन् । कोभिड १९ का कारण ७ महिनासम्म विद्यालय बन्द हुँदा अघिल्लो आर्थिक वर्षमा विनियोजित गरेको बजेट यस वर्ष मात्र कार्यान्वयनमा आएको चैनपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले बताए । प्रमुख प्रशासकीय अधिकृत ढकालका अनुसार नगर क्षेत्रका ५९ वटा सामुदायिक विद्यालयका बाल कक्षा सहित ५ कक्षासम्मका बालबालिकाहरुलाई सरकारी तवरबाट न्यानो स्वीटर वितरण भएको छ । जाडो समयमा यस किसिमको रचनात्मक कार्यक्रमले बालबालिकाको शरिरमा स्वीटरले न्यानो ढाक्न सहयोग पुग्ने सरस्वती मा.वि. चैनपुरका वि.व्य.स. अध्यक्ष नलकुमार खत्रीले बताए । नगरपालिकाले १६ लाख २२ हजार ५ सय रुपैँया खर्चेर टेण्डर मार्फत यो कार्यक्रम संचालमा ल्याएपछि आधारभूत तहमा पढ्ने बालबालिका मध्ये कक्षा ५ सम्मका बालबालिका लाभान्वित बनेका स्थानीय अभिभावकहरु बताउँछन् ।

                सरकारी सामुदायिक विद्यालयमा एकै कलरको न्यानो स्वीटर वितरण गरेपछि विद्यालयमा अध्ययनरत बालबालिकाको पोशाकमा एकरुपता देखिदा थप आकर्षक समेत देखिएको सर्वमङ्गला आधारभूत विद्यालय रातमाटेका प्र.अ. दिनेश पौडेल  बताउँछन् । प्र.अ. पौडेलका अनुसार सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत तहका बालबालकिाहरुलाई दिवा खाजा कार्यक्रम तत्काल संचालनमा ल्याउन स्थानीय सरकारलाई सुझाएका छन् ।

स्थानीय सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कन नदिन शैक्षिक संस्थाहरुलाई आग्रह गर्दै प्रभावकारी ढंगबाट शिक्षण सिकाइ क्रियाकलापलाई अगाडि बढाउन समेत सामुदायिक विद्यालयलाई आग्रह गरिएको चैनपुर नगरपालिका शिक्षा शाखा प्रमुख कमल गौतमले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 157 Viewed

प्रतिक्रिया दिनुहोस्