संखुवासभाको चैनपुर नगरपालिकाले नगरपालिका घोषणा भएको लामो समयपछि अन्तत फोहर मैला व्यवस्थापन गर्ने गरी डम्पिङ साइड (फोहोरमैला संकलन केन्द्र) को स्थापना गर्ने भएको छ ।

चैनपुर नगरपालिका स्थित पोखरी बजार नजिक दाहालडाडा छेउको खाली सार्वजनिक जमिनमा फोरहमैला विसर्जन केन्द्रको लागि नगरपालिकाले वातावरणीय परीक्षण समेत गर्ने भएको छ । सेमी एरोविक लेण्ड फिल्ड साइट मोडेलमा बन्ने सो फोहोर मैला केन्द्रमा सड्ने र नसड्ने गरी फोहोर छुट्याएर विसर्जन गर्ने गरि निर्माण गरिने चैनपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारीले वताउनु भयो । सड्ने फोहरबाट प्राङ्गारिक मल समेत उत्पादन गर्न सकिने वडाध्यक्ष अधिकारीले वताउनुभयो । १ हजार ७३ वर्ग मिटर क्षेत्रफल जग्गामा ९ हजार ६ सय ४ दशमलव ०६ घन मिटर क्षमताको सो फोहोर मैला विसर्जन केन्द्र बन्ने भएको छ ।

नगरपालिकाले हालै फोहोर मैला व्यवस्थापन केन्द्रको लागि प्रारम्भिक वातावरणीय परीक्षण सार्वजनीक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरेको छ । फोहर मैला व्यवस्थापन केन्द्रको वातावरणीय परीक्षणमा वायु प्रदुषण, दुर्गन्ध, पानी प्रदुषण, माटो प्रदुषण, ध्वनी तथा कम्पन, भूमिगत जलश्रोत, व्यवसायजन्य सुरक्षा जोखिम जस्ता विषयमा परीक्षण गरिने वातावरण विज्ञ सन्देश पोखरेलले वताउनुभयो । अनुमानित ३ करोडको लगानीमा बन्ने गरी फोहोर मैला व्यवस्थापन केन्द्र २ वर्ष भित्रमा योजना पुरा गर्ने गरी कामको थालनी गरिने भएको छ ।

फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले जतिसक्दो चाँडो डम्पिङ साइडको निर्माण गरी नगरलाई स्वस्थ र हराभरा बनाउन ढिला भइसकेको स्थानीय बुद्धिजीवी समाजसेवी एवं सिद्धकाली पूर्व गा.वि.स. अध्यक्ष ज्ञानबहादुर कार्कीले वताउनुभयो । सार्वजनीक सुनुवाई कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीयवासी, बुद्धिजीवी, चैनपुर नगरका वडाध्यक्षहरु, स्थानीय व्यापारी लगायतको उपस्थिति रहेको थियो । वातावरण स्वच्छ राख्न निमाणर् कार्य सम्पन्न भएपछि नगर फोहर मैला व्यवस्थानको ठूलो भुमिका रहने समेत वातवरण विज्ञ पोख्रेलले वताउनुभयो ।

चैनपुर नगरपालिकाले निर्माण गर्न लागेको यस डम्पिङ साइडमा चैनपुर बजार, खराङ बजार, पोखरी बजार, नुनढाकी विहीबारे लगायत शहरी क्षेत्रको फोहोर मैलालाई व्यवस्थित गर्ने गरी चैनपुर नगरपालिकाले डम्पिङ साइड निर्माण गर्ने गरी अघि बढेको चैनपुर नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले जानकारी दिनुभयो । यो डम्पिङ साइड निर्माण स्थलसम्म पुग्ने धुले सडक निर्माण कार्य सम्पन्न भइसकेको, यसैगरी डम्पिङ साइडको पूर्वाधारका लागि सम्याउने कार्य समेत भइसकेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 89 Viewed

प्रतिक्रिया दिनुहोस्