भोजपुर खाटम्मा निवासी छिरिङ शेर्पाले सिुवाखोलाका पहिरोबाट विस्थापित परिवारहरुका लागि ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

खाँदबारी नगरपालिका वडा नं. ११ स्थित वडा कार्यालय नजिकै रहेको जग्गा उनले बेसिन्दा पहिरो पीडितहरुका लागि निशुल्क उपलब्ध गराएका हुन् । केहि बर्ष अगाडि उनले खरिद गरेको ८ लाख मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् । विभिन्न दाताहरुको खाद्यान्न, लत्ताकपडा तथा नगद सहयोग गरिरहेको बेला शेर्पाले भने फरक ढंगले स्थायी वसोवासको लागि पहिरो पिडितहरुका लागि निशुल्क जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको बताए ।

पहिरो पीडितहरुका लागि देश विदेशबाट राहत स्वरुप नगद, खाद्यान्न, लत्ताकपडा जस्ता सहयोग प्राप्त भईरहेको अवस्थामा जग्गा दिनेमा पहिलो व्यक्ति शेर्पा बन्न सफल भएका छन् । पहिरोबाट विस्थापित हुने १ सय ६ घर परिवारलाई स्थायी व्यवस्थापन गर्नको लागि जग्गा प्राप्ति भएपछि शेर्पालाई सिलिचोङ गाउँपालिका परिवारले शेर्पा प्रति आभार प्रकट गरेको छ । पहिरो पीडितहरुको लागि दीर्घ सोचका साथ उपयुक्त ठाउँमा आफ्नो पालिका भित्रका पहिरो पीडितहरुका लागि सो जग्गा प्रदान गरेकोमा धन्यवाद दिंदै यस किसिमका सहयोगहरु जुट्दै जानेमा गाउँपालकिाको अपेक्षा रेहेको अध्यक्ष राम बहादुर कुलुङले जानकारी दिए ।

बेसिन्दा र चेप्चेवाका १ सय ६ घर पहिरोबाट विस्थापित बनेर यतिखेर टेण्टमा बसेको ५ महिना वितिसहेको छ । यतिखेर सो ठाउँमा जाडो यामको चिसो ठण्डीमा समेत टेण्ट मुनी रात काट्ने युवा युवतीहरु विस्तारी विस्तारी गाउँ छोड्न थालेसँगै टेण्टहरु समेत खाली हुन थालेका छन् । आजभोलि विद्यार्थीहरु पढ्नका लागि शहरतिर लागे, युवाहरु रोजगारको खोजीमा त्यहाँबाट बाहिर निस्केका छन् । गाउँमा पहिरोबाट बचेका जग्गाहरुमा उब्जनी कुर्दै कतिपय पहिरो पीडितहरु बसिरहेका छन् र केहि नहुनेहरु टेण्टमा नै दिन रात काट्न बाध्य रहेका छन् । उनीहरुलाई यसरी दाताहरुले जग्गा नै दान गरेको सुन्दा भने खुसी लागेको पहिरोबाट विस्थापित भएका सञ्जय कुलुङले बताए । लामो समय वितिसक्दासम्म यति ठूलो संख्यामा प्राकृतिक प्रकोपको विपत्तिमा परेका नागरिकहरुलाई स्थानीय सरकार बाहेक अन्य सरोकार निकायहरुको ध्यान नपुगेकोमा पहिरो पीडितहरु भने चिन्तित बनेका छन् । केही समय अघि पहिरो पीडितहरका लागि भन्दै प्रदेश नं १ को सरकारको पहलमा हेलिकप्टर मार्फत पहिरो पीडित क्षेत्रमा जन प्रतिनिधिहरुले स्थलगत निरीक्षण गरेर केही खाद्यान्न, लत्ता कपडा, खानेपानीको पाइप आदिको व्यवस्था गरेको, यसैगरी पूर्व राज्यमन्त्री दिपक खड्का समेत हेलि मार्फत पुगेर व्यक्तिगत सहयोग गरेका भएपनि स्थायी रुपले सरकारी तवरबाट ती पहिरो पीडितहरुको लागि उल्लेख्य राहत भने नभएको पहिरो पीडितहरुले दुखेसो पोखेका छन् ।     

अन्तिम पटक अध्यावधिक गरिएको 17 Viewed

प्रतिक्रिया दिनुहोस्