खाँदबारीमा सञ्चालित हिमालयन एजुकेशन सेन्टरले जिल्लाको अति दुर्गम भोटखोला गाउँपालिकाका विभिन्न बस्तीमा कोभिड १९ को संक्रमणबाट बच्न त्यहाँका नागरिकहरुलाई सावुनपानीले हात धुन सिकाउन थालेका छन् ।

विश्वमा फैलिएको कोरोना भाईरस संक्रमण हुन नदिन भोटखोलामा हात धुन प्रतिघरलाई तीन/तीन वटा सावुन वितरण गरिएको छ । गाउँपालिकाका २ हजार घर परिवारलाई सचेतना कार्यक्रमसंगै सावुन वितरण गरिएको हो । हिमालय एजुकेशन सेन्टर (एचईसी) खाँदबारीले सचेतना अभिवृद्धिका लागि गाउँपालिकाको सरकारी तथा गैह्र सरकारी संस्थाहरुसंगै गाउँपालिकाको सबै घर परिवारमा सावुन वितरण गरिएको एचईसीका सचिव सुनिता गुरुङले बताइन् । नेपालकै दुर्गम क्षेत्रको रुपमा चिनिने भोटखोलाका ग्रामिण क्षेत्रमा सावुन वितरणसंगै स्वास्थ्य सम्बन्धी नागरिक सचेतना जस्ता चेतनामूलक कार्यक्रमको थालनी भएको पालिका भित्र यो पहिलो कार्यक्रम भएको समेत उनले बताईन् ।

भोटखोला भौतिक पूर्वाधार र विकासँग जोडिन नसकिरहेको यस क्षेत्रमा यतिखेर सञ्चार सुविधाबाट समेत त्यहाँका जनताहरु बञ्चित रहेका भोटखोला क्षेत्रका आम नागरिकहरुमा कोरोना भाईरस बारे जानकारी नहुँदा यस क्षेत्रमा झनै संक्रमणको त्रास हुने सम्भावनालाई न्युनिकरण गर्ने उदेश्यले यो कार्यक्रम संचालन गरिएको हो । विभिन्न सरकारी संयन्त्रहरुलाई भोटखोला क्षेत्रमा पुग्न समेत कठिनाइ भइरहेको अवस्थामा एचईसीले सहयोग गरेको हो । गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्था, सरकारी संयन्त्रहरुमा सावुनसंगै स्वास्थ्य सामाग्री वितरण गरे पछि स्थानीयवासीहरु खुशी भएका छन् । गाउँपालिकाको १ हजार ९ सय घर परिवार र सरकारी संस्थाहरुमा ६ हजार थान सावुन, सेनिटाईजर ७० थान, सर्जिकल मास्क २ हजार थान, केएन ९५ मास्क १५० थान, पिपिई सेट ८ थान र थर्मल गन १२ थान विभिन्न स्वास्थ्य संस्थाहरुमा समेत सो अवसरमा वितरण गरिएको थियो । गाउँ गाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै स्थानीय स्तरमा नै सावुन वितरण गरेको भन्दै स्थानीयहरु खुसी भएका छन् । स्थानीय पेक्मा सोनाम भोटेले कोभिड १९ को संक्रमण सुरु भएको लामो समय वितिसक्दा समेत स्थानीयहरु संक्रमणबाट बच्न चेतनाको कमीका कारण संक्रमण हुने सम्भावना भइरहेको वेला यो कार्यक्रम ल्याएर भोटखोलावासीमा ठूलो राहत मिलेको समेत उनले बताए । आफ्नो गाउँपालिका क्षेत्रमा नै आएर सावुन तथा स्वास्थ्य सामाग्री वितरण गरेर एक उदाहरणीय कोरोना विरुद्धको अभियान सञ्चालन गरेकोमा भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले यस किसिमको कार्यक्रमले नागरिकहरु आफ्नो स्वास्थ्य प्रति सचेत रहन सहयोग पुग्ने बताए । गाउँपालिका अध्यक्ष तेम्बा भोटेले गाउँपालिका पनि कोरोना विरुद्धको अभियानमा रहेको र सोहि अभियानमा एचईसीले समेत साथ दिएको भन्दै सो संस्थालाई धन्यावाद समेत ज्ञापन गरेका छन् । विभिन्न संघसंस्थाहरुले यस्ता कार्यक्रम सुगम स्थानहरुमा मात्र गर्ने गरेकोमा दुर्गम क्षेत्रमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्न अन्य सरकारी तथा गैह्रसरकारी संस्थाहरुलाई सुझाएका छन् ।

विगत १२ बर्षदेखि शिक्षामा महिलाहरुको पहुँचका लागि निःशुल्क आवासीय महिला शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको एचईसीले पछिल्लो समय विभिन्न शैक्षिक तथा सामाजिक गतिविधिमा अगाडी बढेको देखिन्छ । दुर्गम क्षेत्रका महिला तथा बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्‍याउनको लागि भोटखोला क्षेत्रमा विभिन्न विद्यालयको भौतिक सुधार गर्न यो संस्था यतिखेर लागिपरेको छ । एचईसीले जस्तै अन्य सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरुले पनि यस्ता कार्यक्रम दुर्गम क्षेत्रसम्म पुर्‍याउँन सके दुर्गम गाउँवस्तीका नागरिकहरुले कोभिड १९ को संक्रमणबाट बच्न र ग्रामिण क्षेत्रहरुमा विकासका कार्यहरुमा नागरिकहरु सकारात्मक रुपले सहभागिता जनाउन यस्ता कार्यक्रमहरुले नागरिकहरुमा थप चेतना हुने विश्वास गर्न सकिन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 46 Viewed

प्रतिक्रिया दिनुहोस्