सरकारले विद्यालय सञ्चालन गर्ने जिम्मा पालिकालाई दिएसँगै संखुवासभाका सबै पालिकाहरुले विद्यालय खुलाउने तयारी थालेका छन् ।

कोरोनाको जोखिम नभएका र कम भएका ठाउँमा प्रदेश र पालिकाको निणर्य अनुसार विद्यालयहरु खुल्न सरकारले आग्रह गरेसँगै संखुवाभसाका सामुदायिक विद्यालय तथा निजी विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । जिल्लाको कोरोना प्रभावित क्षेत्रका पालिकाहरुले भने सजगता अपनाएर मात्रै शिक्षण सिकाइ सहजिकरणका माध्यमबाट शिक्षण सिकाइ गर्ने बुझिएको छ । विद्यालय सञ्चालन गर्दा कोरोनाको जोखिमलाई ख्याल गर्न स्थानीय सरकार र सरोकारवालाले विद्यालय प्रशासनलाई आग्रह समेत गरेको बुझिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचामा सङक्रमणको जोखिम नभएको वा कम हुँदै गएको पालिकाले विद्यालयहरूसँगको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्नुपर्ने उल्लेख गरेपछि चैनपुर नगरपालिकाले आफ्नो पालिका भित्रका सबै विद्यालयहरु सञ्चालनमा ल्याउन सुझाएको छ । चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्रीले विद्यालय खोल्दा पर्याप्त मात्रामा विद्यालयमा पानी, हात धुने ठाउँ, साबुन, सेनिटाइजर र अन्य सरसफाइका सामग्रीहरुको समेत व्यवस्था गर्नुपर्ने सुझाएका छन् ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचामा सरसफाइका सामग्रीको व्यवस्था गरी पर्याप्त प्रकाश र हावा आवतजावत गर्ने कक्षाकोठामा कक्षा सञ्चालन गर्न भनिएको छ । शिक्षक, विद्यालयका कर्मचारी, विद्यार्थी सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, लगायतका व्यवस्था कार्य ढाँचामा उल्लेख छ । यस्तै सबै विद्यार्थीको शरीरको तापक्रम नाप्ने थर्मल गनको व्यवस्था गर्नुपर्ने, कुनै विद्यार्थी, शिक्षक वा कर्मचारी बिरामी परेमा विद्यालय आउन नहुने लगायतका व्यवस्था कार्यढाँचामा समेटिएको छ । लामो समयदेखि विद्यालय नखुल्दा बालबालिकाहरुको पठनपाठनमा टड्कारो समस्या खट्किएपछि स्थानीय पालिकाहरुले आफ्नो पालिका क्षेत्र भित्रका विद्यालयमा पठनपाठन गराउन सुझाएसँगै संखुवासभा भित्रका १० पालिका मध्ये अधिकांश पालिका भित्रका विद्यालयहरुले आइतवारबाट पठनपाठन थाल्ने भएका छन् । ग्रामिण क्षेत्रमा रहेका विद्यालयको भौतिक पूर्वाधारको अवस्था नेपाल सरकारको कार्यढाँचा अनुसार भौतिक दुरी कायम गरी शिक्षण गर्ने विषयले भने विद्यार्थीहरुको स्वास्थ्यलाई भने चुनौति थपिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 30 Viewed

प्रतिक्रिया दिनुहोस्