नेपाल सरकारले संखुभासभा-सोलुखुम्बु, नुवाकोट-सिन्धुपाल्चोक र मुगु सहित तीन ठाउँमा नयाँ निकुञ्ज बनाउने तयारी थालेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मकालु बरुण निकुञ्जसँगैको संखुवासभाको केही भाग र सोलुखुम्बु जिल्लाको बुङ क्षेत्रसहित जोडेर अलग्गै निकुञ्ज बनाउने तयारी थालेको हो । यसैगरी डोल्पा स्थित से-फोक्सुन्डो निकुञ्जबाट पूर्वको मुगुमा फैलिएको ८३९ वर्गकिलोमिटर क्षेत्रलाई डोल्फु राष्ट्रिय निकुञ्ज बनाउने प्रस्ताव अघि बढाएको छ । डोल्फु अहिले से-फोक्सुन्डो निकुञ्जमा समेटिएको छ ।

त्यस्तै अहिले लामटाङ निकुञ्जमा रहेको नुवाकोटको कुटुम्साङदेखि सिन्धुपाल्चोकको बलेफी खोलासम्मको पूर्वी भागमा अलग्गै र नयाँ बनाइने दुई निकुञ्जको नाम भने सम्बन्धित निकुञ्ज कार्यालयलगायत सरोकारवाला निकायसँगको छलफलबाट तय गरिने भएको छ ।

सरकारले हालै तयार गरेको कार्यक्रमलाई प्रभावकारी बनाउन ‘विभागको तत्काल सुधार रणनीतिक योजना’ कार्यक्रम मार्फत तीन वटा नयाँ निकुञ्ज थप्ने प्रस्ताव गरिएको हो । वन तथा वातावरण मन्त्रालयका अनुसार वन विभागको नेतृत्वमा रणनीतिक योजना तयार गरी कार्यान्वयनका लागि अघि बढाइने भएको हो ।

भूगोल धेरै समेटेर निकुञ्ज बनाइएकाले व्यवस्थापन-संरक्षणमा समस्या उत्पन्न भएपछि भइरहेकै क्षेत्रलाई टुक्रयाएर नयाँ निकुञ्ज बनाउने तयारी सुरु गरिएको हो । नयाँ निकुञ्ज बनाउने गरी विभागले सुधारको रणनीतिक योजना अघि सारेको छ । त्यसका निम्ति सरकारको सरोकार निकायले अर्थ मन्त्रालयसँग बजेटसमेत माग गरेको बुझिएको छ । यो कार्यक्रमलाई एक वर्षभित्र कार्यान्वयनमा ल्याइने समेत वन विभागले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा ‘सरकारले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्लासमेत खोलिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरी राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने’ व्यवस्था छ ।

तीनवटा निकुञ्ज थपिएपछि देशमा निकुञ्जको संख्या १५ हुनेछ । अहिले देशभरि १२ वटा निकुञ्ज, दुई वटा आरक्षण, एक सिकार आरक्षण, ६ वटा संरक्षण क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र रहेमा छन् । देशको कुल क्षेत्रफलको २३.३९ प्रतिशत भू-भाग संरक्षित क्षेत्रका रूपमा घोषणा भई विभाग मार्फत व्यवस्थापन भइरहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 25 Viewed

प्रतिक्रिया दिनुहोस्