जिल्लामै पहिलो पटक ड्रिल सिस्टमका माध्यमले बोरिङ गरेर खानेपानी आयोजना सञ्चालनमा आएपछि धर्मदेवी नगरपालिका वडा नं.७ र ८ का ७ सय घरधुरी खानेपानी सुविधा उपभोग गर्न सफल भएका छन् ।               

  जिल्लाकै दक्षिणी क्षेत्रको अति घना जनसंख्या भएको धर्मदेवी नगरपालिका वडा नं. ७ को आँखिभुइमा बोरिङ गरेर १ सय ५२ फिट जमिन खनी पानी निकालिएसँगै ५० एम.एम. क्षमताको पाइपबाट ३ सय मिटर माथि निर्माण गरिएको आँखिभुई वृहत खानेपानी आयोजनाले ३० वर्ष अघि निर्माण गरेको २ लाख लिटर क्षमताको पुरानो ट्याङ्कीमा पानी जम्मा गरी २ वडाका ७ सय घर परिवारलाई निरन्तर खानेपानीको सेवा दिन धर्मदेवी नगरपालिका सफल भएको धर्मदेवी नगरपालिकाका नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिनुभयो । नगर प्रमुख जिमीका अनुसार २० प्रतिशत जनश्रमदान सहित रु.२२ लाखको लागतमा अघिल्लो वर्षको बजेटबाट यो आयोजना संचालनमा ल्याइएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कुँवरले जानकारी दिए । अध्यक्ष कुवरका अनुसार यो आयोजना संचालनमा आएपछि ३ वर्ष यता देखि पुरानो खानेपानी मुहान पालिकाको वडा नं.९ मा रहेको मूला खोलाबाट ल्याइएको पानी हिउँदको सुख्खा सिजनमा सुकेपछि वैकल्पिक विधिको उपयोग गर्दै बोरिङ पद्धतिबाट उक्त आयोजना संचालनमा ल्याइएको हो । स्थानीय उपभोक्ताहरुको खानेपानी समस्यालाई हल गर्न नगरले यो नयाँ प्रविधिको पहाडमा प्रयोग गरेर सफल भएपछि १२ महिना नै खानेपानीको सुविधाबाट त्यहाँका जनताहरु लाभान्वित बनेका छन् । घण्टौँ डोको र काँधमा पानीका घैला बोकेर पानीको चाहारीमा भौँतारिनु पर्ने बाध्यताबाट यहाँका जनताले मुक्ति पाएपछि उनीहरु घर आँगनको धारोबाट नै पानी उपभोग गरी दंग देखिन्छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 23 Viewed

प्रतिक्रिया दिनुहोस्