पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बालुवाटारमा भएको छलफलको क्रममा अन्ततिर प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए।

पछिल्ला दिन नेताहरुबीचको विवाद फेरि चर्किएपछि आज आइतबार ओलीले वरिष्ठ नेता नेपाललाई छलफलका लागि बोलाएका थिए।

नेता नेपाल स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तसहित बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको प्रसंग जोडेर आफू अझै सक्रिय रहने भन्दै घुमाउरो रूपमा आफूलाई कमजोर नआँक्न समेत भनेको एक नेताले बताए। ‘उहाँले लास्टमा रमाइलो कुरा भन्नुभयो। दोस्रोपल्ट मेरो किड्नी परिवर्तन गरेपछि खै के भएको हो कुन्नि हाच्छ्यूँ पनि आउँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने,’यताउता केही पनि भएको छैन। तरल र ताजा पनि छु, झन-झन बलियो भएको छु।’ प्रधानमन्त्री ओलीले आफ्ना जुंगा पहिला सबै सेता आउने तर अहिले भने आधा कालो भएर आउन थालेको समेत बताएको ती नेताले बताए।

‘मेरा त जुंगा पनि आधा कालो भएर आएका छन्, मेरो पनि त भूमिका होला नि भन्नुभयो। अब बुझी त हाल्नुभयो नि,’ ती नेताले भने। गत फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको दोश्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 15 Viewed

प्रतिक्रिया दिनुहोस्