चाडबाडका वेला काठमाडौंको न्युरोडमा हुने खचाखच भिड यो साल छैन, सपिङ कम्प्लेक्सहरू सुनसान छन्, खाद्यान्नको भाउ बढेको छ, तर व्यापार आधा घटेको छ, रसुवागढी र तातोपानी नाका १० महिनादेखि बन्द हुँदा नयाँ लत्ताकपडासमेत बजारमा छैन

कोरोना भाइरस नियन्त्रणका लागि ११ चैतदेखि विभिन्न चरणमा लकडाउन जारी रहँदा अर्थतन्त्रमा ठूलो असर परेको छ । ६ साउनबाट लकडाउन खुकुलो बनाए पनि संक्रमितको संख्या बढ्दै जान थालेपछि आर्थिक गतिविधिमा सुधार आउन सकेको छैन । सबैभन्दा बढी आर्थिक कारोबार हुने दसैँको बजारमा पनि यो वर्ष तहसनहस भएको व्यवसायीहरू बताउँछन् । काठमाडौं उपत्यकामा व्यवसाय गर्ने विभिन्न २३ व्यापारिक संस्थाहरूको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार होलसेलको व्यापार ५० प्रतिशत कमी आएको छ भने खुद्रा व्यापारीहरू खुसी हुन सक्ने अवस्थामा छैनन् । दसैँअगाडि लकडाउन नहुने निश्चित भएपछि देशभरका खुद्रा व्यवसायीले होलसेलबाट ठूलो सामान उठाएको उनले बताए । ‘गत वर्षसँग तुलना गर्ने हो भने यो वर्ष होलसेल बजार ५० प्रतिशत रिभाइभ भयो,’ उनले भने, ‘तर, खुद्रा व्यापार उठ्नै सकेन । प्रमुख सहरका खुद्रा व्यवसायलाई नराम्ररी असर परेको छ ।’ सटर भाडा र बैंक ब्याज तिर्न नसकेर दसैँको व्यापारले ६ महिनादेखिको घाटा पूर्ति गर्ने सोच बनाएका व्यवसायी निराश बनेको उनले बताए । 

राजधानीमा अति व्यस्त न्युरोड, महाबौद्धलगायतका बजारमा नवरात्रि सुरु भएदेखि पार्किङको अभाव हुने, भिडका कारण पैदल निस्कन गाह्रो हुने हुन्थ्यो । तर, यसपटक पार्किङ यार्ड खुला छ भने सडकमा हिँड्ने मानिसको संख्या अति न्यून छ । ‘न्युरोडको सडकपेटीमा पसलधनीहरूले नै सस्तो सामान बिक्रीका लागि राख्थे, अहिले त्यस्तो सामान देखिँदैन,’ कटुवालले भने, ‘यो भनेको व्यवसायीमा देखिएको निराशा हो ।’

यसपटक चीनको केरुङ र तातोपानी नाका सञ्चालन नहुँदा नयाँ लत्ताकपडा आएन । होलसेल व्यापारीको गोदाममा रहेका पुरानै स्टक क्लियरेन्स गर्ने काम मात्रै भयो । कटुवालका अनुसार उपभोक्ताले यसपटकको दसैँमा पुरानै डिजाइन र मोडलको लुगा लगाउन बाध्य हुनुप¥यो । ‘विगतमा धेरै कारोबार हुने सपिङ मल यसपटक चल्न सकेनन्,’ उनले भने, ‘रोजगारी नहुँदा आयस्रोत खुम्चिएकाले दसैँमा हुने खर्च कटौती भएको हुन सक्छ ।’ 

होलसेल पसल राखेको न्युरोडको रञ्जना कम्प्लेक्सको अवस्था तुलनात्मक रूपमा सुधार भएको देखिन्छ । तर, सँगै आरबी कम्प्लेक्स, पिपुल्स प्लाजा, विशाल बजारलगायतमा भिड नै हुने गरेको छैन । त्यस्तै, गाेंगबुको कान्तिपुर मल सुनसान हुने गरेको छ । विगतमा दसैँमा घर फर्कने यात्रुहरू सो मलमा पुगेर किनमेल गर्ने भएकाले खचाखच हुने गथ्र्याे । अहिले लामो दूरीको बस खासै नचलेको र धेरै मानिसहरू पहिले नै गाउँ गएकाले अहिले गोंगबुमा भिड नै छैन । जसकारण त्यस क्षेत्रका साना तथा ठूला पसलहरूमा उपभोक्ताको भिड छैन । त्यस्तै, सुन्धाराको सिभिल मलसमेत भिड कम हुने मलमा पर्छ । मल्टिप्लेक्स फिल्म हल सञ्चालन गर्ने मलहरूमा अहिले चलचित्र नै नचलेका कारण पनि किनमेल गर्नेको संख्या घटेको हो । यो भिडमा भाटभटेनी सुपरमार्केटले भने तुलनात्मक रूपमा राम्रो व्यापार गरिरहेको छ । लकडाउनका वेलासमेत सेवा सुचारु गरेका कारण दसैँको व्यवसायमा सुधार भएको कटुवालले बताए ।  

खाद्यान्नको भाउ अकासियो
दसैँमा सबैभन्दा बढी खपत हुने अधिकांश खाद्यान्नको माग गत वर्षको तुलनामा ५० प्रतिशत घटेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । तर, खाद्यान्नको भाउ भने अकासिएको छ । व्यवसायीका अनुसार प्रमुख खाद्य वस्तुमा प्रतिकिलो औसतमा १० रुपैयाँले मूल्यवृद्धि भएको छ । संघ अध्यक्ष श्रेष्ठका अनुसार चामल, केराउ, चना, दाल, खानेतेल, बोडी, राजमा, चिनीलगायतको मूल्य बढेको छ । अहिले सबैभन्दा बढी खानेतेलको मूल्यवृद्धि भएको छ ।

भारतीय बजारमा समेत खानेतेलको मूल्य बढेको तर्क गर्दै नेपाली उद्योगीले यहाँ उत्पादन हुने तोरी, सनफ्लावर र भटमासको तेलको मूल्यवृद्धि गरेका छन् । सबैभन्दा बढी धारा ब्रान्डको तोरीको तेलको मूल्यवृद्धि भएको छ । ‘धारा हेल्थको नयाँ अधिकतम खुद्रा बिक्री मूल्य २ सय ४५ रुपैयाँ प्रतिलिटर भनेर आएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यसअघि यो तेलको मूल्य २ सयदेखि २ सय १५ रुपैयाँ प्रतिलिटर थियो ।’ त्यस्तै, धारा मात्रै उल्लेख भएको तोरीको तेल प्रतिलिटर २० रुपैयाँसम्म महँगिएर २ सय २० रुपैयाँ पुगेको छ ।

त्यस्तै, सनफ्लावर तेलको मूल्य १५–२० रुपैयाँसम्म महँगिएको छ । ‘पहिले सनफ्लावर तेल १६५–१७० प्रतिलिटरमा बिक्री भइरहेको थियो । अहिले नयाँ मूल्यअनुसार १ सय ८५ प्रतिलिटर कायम भएको छ,’ श्रेष्ठले भने । उपभोक्ताको भान्सामा सबैभन्दा बढी सनफ्लावर तेल प्रयोग हुने गरेको छ । त्यस्तै, भटमासको तेल पनि प्रतिलिटर १५ रुपैयाँ महँगिएर १ सय ७० रुपैयाँ पुगेको छ । पहिले भटमासको तेल १५५–१६० रुपैयाँ प्रतिलिटर थियो । व्यवसायीका अनुसार १ सय ५ को हरियो केराउ १ सय १८ सम्म, ७० को सेतो केराउ ८०, १ सय १० को चना १ सय २० रुपैयाँसम्म, १ सय ६० को मासको दाल १ सय ७०, १ सय १० को बोडी १ सय २०, १ सय ८० को राजमा १ सय ९० रुपैयाँसम्म पुगेको छ ।

सरकारी सहुलियत पसल निष्प्रभावी
प्रत्येक वर्ष दसैँमा हुन सक्ने खाद्यान्नको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानलाई परिचालन गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्ने गरेको थियो । यसपटक पनि तीनवटै संस्थालाई विशेष छुट मूल्यमा खाद्यान्न बिक्री गर्न सरकारले निर्देशन दिएको छ । तर, कोभिडको कारण देखाउँदै तीनवटै संस्थाले एकीकृत रूपमा रामशाहपथमा सञ्चालन गर्दै आएको बिक्री केन्द्र बन्द छ ।

खाद्य कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार कोभिडका कारण भिडभाड हुने डरले तीनवटै संस्थानको एकीकृत पसल सञ्चालन गरिएको छैन । ‘यसपटक हामीले आ–आफ्नो बिक्री केन्द्रबाट छुट मूल्यमा खाद्य वस्तु बिक्री गरिरहेका छौँ,’ उनले भनिन् । संस्थानको बिक्री केन्द्रसम्म पुगेर खाद्यान्न खरिद गर्न उपभोक्ता उत्साहित देखिएका छैनन् ।

अर्कातिर सस्तो मूल्यमा बिक्री गर्ने भनिएको चिनी समयमै आउन नसक्दा उपभोक्ताले चाडपर्वमा लाभ लिन पाएनन् । मन्त्रिपरिषद् निर्णय गरी खाद्य कम्पनीले १० हजार टन र साल्ट ट्रेडिङले २० हजार टन चिनी आधा भन्सार शुल्कमा आयात गर्न पाउने व्यवस्था गरेको थियो । तर, खाद्य कम्पनीले अहिलेसम्म आयात गर्न सकेको छैन भने साल्ट ट्रेडिङले थोरै परिमाण आयात गरेका कारण आफ्नै बिक्री केन्द्रबाट मात्रै प्रतिकिलो ७० मा चिनी बिक्री गरिरहेको छ । यी पसलहरूबाट चामल, दाल, फापर, तितेफापर, केराउ र चिनी प्रतिकिलो ५ रुपैयाँ, नुन २ रुपैयाँ, घिउ र जिउँदो खसीको मासु प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । तर, उपभोक्ता संस्थानको कार्यालयसम्म पुगेर खरिदको चाहना नराख्दा सरकारले दिएको छुट सुविधाको उपयोग हुन सकेको छैन ।

सरकारी खसीमा आकर्षण

३ कात्तिकबाट सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङ र हेटौँडाबाट खसी–बोका आयात गरी काठमाडौं उपत्यकामा बिक्री सुरु गरेको छ । सो खसी–बोका खरिद गर्न उपभोक्ताको भिड बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उपभोक्ताको भिड बढेकै कारण कम्पनीले २ हजार खसी–बोका बिक्रीको योजना कार्यान्वयन गरिरहेको छ । कम्पनीले जिउँदो खसी–बोका प्रतिकिलो ५ सय ५० रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री गरिरहेको छ । कलंकी खसीबजारमा भने प्रतिकिलो ६ सयदेखि ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

अटोमोबाइलमा उपहारको बहार, बजार पनि ‘रिकभर’ हुँदै

स्थिति सामान्य हुन्थ्यो भने दसैँअगाडि भृकुटीमण्डपमा कार, मोटरसाइकललगायतको नाडा अटो हुने थियो । त्यहीँबाट नयाँ तथा पुराना सवारीसाधन बिक्री गर्ने होडबाजी हुने थियो, तर कोरोनाका कारण भिडभाड गर्न बन्देज भएकाले यसपटक अटो सो आयोजना हुन सकेन । यद्यपि, सवारीसाधन आयातकर्ता कम्पनीले विभिन्न आकर्षक स्किम सार्वजनिक गरेका छन् । अर्कातिर नयाँ र प्रिमियम ब्रान्ड बिएमडब्लू कार, जाबा मोटरसाइकल, हस्कभर्ना मोटरसाइकललगायत भित्रिएका छन् ।

सस्तो कार, मोटरसाइकल बिक्री हुन नसकिरहेका वेला महँगो मूल्यको कार, बाइक आयात गरेर व्यवसायीले भविष्य उज्ज्वल रहेको संकेत गरेका छन् । यति मात्र होइन, सबै ब्रान्डले दसैँलक्षित नयाँ मोडल धमाधम भित्र्याएका छन् । जिपको नयाँ कम्पास कार, डट्सनको २५ लाख रुपैयाँ पर्ने नयाँ रेडी गो कार, टिभिएसले अपाचे आरटिआर १६० फोरभी, निसान म्यागनाइट एसयुभी, टाटा अल्ट्रोज, यामाहा रे जेडआर १२५, टिभिएस एनटर्क, रेनोको नयाँ क्विड, हुन्डाई नेक्स्ट जेनेरेसन क्रेटालगायत केही नयाँ मोडल नेपाल भित्रिएका छन् ।

नयाँ र पुराना मोडलका सवारीसाधन बिक्री गर्न अटोमोबाइल व्यवसायीले एक रुपैयाँ डाउन पेमेन्टदेखि निःशुल्क ब्याजदर, लामो समयसम्मका लागि किस्ताबन्दी योजना, आकर्षक छुटलगायत उपहार योजना राखेका छन् । यद्यपि, अटोमोबाइल बजार भने विगतको तुलनामा २० प्रतिशत मात्र ‘रिभाइभ’ हुन सकेको व्यवसायीले बताउँदै आएका छन् । 

विगतका वर्षहरूमा दसैँ–तिहारलाई सबैभन्दा बढी बिक्री हुने समय मानिन्थ्यो । यसपटक पनि तुलनात्मक रूपमा बिक्री बढे पनि सन्तोषजनक अवस्था नरहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष आकाश गोल्छाले बताए । ‘लकडाउनका कारण गत आर्थिक वर्ष ०७६/७७ को अन्तिम तीन महिना कारोबार शून्य भयो,’ उनले भने, ‘चालू आर्थिक वर्ष ०७७/७८ को तीन महिनामा भने केही सुधार भएको छ । अहिले दसैँ लागेकाले पनि बिस्तारै चहलपहल देखिएको छ । दसैँका कारण अटोमोबाइल बजार ६०–६५ प्रतिशतसम्म रिभाइभ भएको छ ।’

दसैँ–तिहार लक्षित उपहार योजनाले पनि बिक्री बढाउन ठूलो मद्दत मिलेको उनले बताए । फोर्ड कारको नेपालस्थित अधिकृत आयातकर्ता गो अटोमोबाइल्सका प्रबन्ध निर्देशक गोल्छाले भने, ‘स्किम हामीले दिएका छाैँ । तर, अहिले धेरै उपभोक्ता स्किम छोडेर छुट पाइन्छ भने त्यो दिनु पनि भन्न थाल्नुभएको छ । यद्यपि, अधिकांशलाई स्किमले पनि आकर्षण गरेका कारण बजारमा चहलपहल बढेको छ ।’

अन्तिम पटक अध्यावधिक गरिएको 28 Viewed

प्रतिक्रिया दिनुहोस्